भ्रष्टाचारविरुद्ध सरकारले फाइल होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै दबाबविना भ्रष्टाचारकाविरुद्ध राज्य लाग्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा शर्माले दबाबलाई पन्छाएर नक्कली भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताउनुभयो।

उहाँले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुने बताउनुभयो । शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने धारणा राखनुभयो।

यस्तै, उहाँले मुलुकको अहिलेको व्यवस्थाले मुलुकमा विदेशी लगानी भित्राउन नसकिने जिकिर गर्नुभयो । गैरआवासीय नेपालीको नागरिकताको विषयलाई अड्काएर राखिएका कारण पनि लगानीमा समस्या हुन सक्ने उहाँले बताउनुभयो।

सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर गर्नुपर्ने भन्दै उहाँले ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्ने बताउनुभयो।

Back to top button