नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै पक्राउ गरेको हो। यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए।

परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको हो। तर शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता र सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि पछिल्लो समयमा कारबाही गर्न दबाब परेको छ।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी हुनुहुन्छ। टोपबहादुरलगायत केही फरार रहनुभएको जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो काठमाडौंको शंखमूलबाट टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले बताउनुभयो।

पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको आरोप छ।

Back to top button