नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी देखिन्छ सबैलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । यसमा राजनीतिक दबाव दिन नहुने उहाँको भनाइ छ ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताउनुभयो ।

‘जो–जो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’उहाँले भन्नुभयो,‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उहाँले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गर्नुभयो ।

यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उहाँले भन्नुभयो,‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्‍याउँछ ।’

Back to top button