सरकारले राम्रो काम मात्र गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो काम गर्ने र राम्रो बाहेक अरु गर्दै नगर्ने बताउनुभएको छ ।

दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो कामबाहेक अरू नगर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गर्नुभएको थियो। उहाँले भन्नुभयो,‘उहाँहरूलाई नै हेरेर हामी आन्दोलनमा लागेका हौं । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरू छन् ।’

उहाँले अहिले परिस्थिति नयाँ बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपील पनि गर्नुभयो।

उहाँले भन्नुभयो,‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

Back to top button