प्रहरीलाई स्वतन्त्र ढंगका साथ काम गर्न दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । आज ३ ठूला दलका शीर्ष नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनमा पूर्णरूपमा सहयोग गर्ने जनाउनुभएको छ ।

दिउसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच निर्दोष नफस्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल भएको हो।

छलफलपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाबारे दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा एकमत रहेको बताउनुभयो।

उहाँले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले ३ नेताहरुबिच विशेषगरी सदनलाई प्रभावकारी बनाउने, समितिहरूलाई पूर्णता दिने लगायतका विषयमा छलफल भएको बताउनुभयो।

यस्तै, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको बाटोमा अघि बढेको भन्दै राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने जोसुकैविरुद्ध कडा कारबाही हुने स्पष्ट पार्नुभयो।

उहाँले केही दिनअघि केपी ओलीसँग भएको भेटमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको बताउनुभएको थियो।

Back to top button