‘जिउँदो सहिद’ कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँको शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उपचारका क्रममा गएराति उहाँको निधन भएको हो।

कायस्थ लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहनुभएका उहाँको ३२ वर्षको उमेरमा उपचाररको क्रममा निधन भएको हो।

२०६२ चैत २७ गतेको आन्दोलनमा उहाँको कञ्चटमा गोली लागेको थियो। गोली लाग्दा उहाँको उमेर १४ वर्षको मात्र थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएका उहाँ सोही दिनदेखि ओछ्यानमा पर्नुभएको थियो। ओछ्यानमा लड्नुभएका कायस्थ कहिल्यै उठ्नसक्नुभएन्। १७ वर्षदेखि उहाँ जीवन र मृत्युसँग लडिरहनुभएको थियो।

सरकारले कायस्थको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा,अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’सम्मान प्रदान गरेको थियो।

Back to top button