सारै ठूलो संख्यामा ठगी र शोषण भएपछि घटना छताछुल्ल भएको हो: केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सारै ठूलो संख्यामा ठगी र शोषण भएपछि घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु ।’

यो प्रकरणमा ठूलाठूला व्यक्तिसमेत तानिने सम्भावना छ नि भन्ने जिज्ञासामा उहाँले त्यसमा आफुले भन्नु केही नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ’ ।

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी समेत संलग्न भएको भन्दै अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई लगायत १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Back to top button