हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले हिजोबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिनुभयो।

उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उहाँले बताउनुभयो । ४० वर्ष पुरानो उपकरण जीर्ण अवस्थामा रहेको र बेलाबेलामा बिग्रिरहने भएकाले सिमेन्ट उत्पादनमा समस्या भएको पाण्डेले बताउनुभयो ।

‘४० वर्ष पुराना मेसिन बिग्रिएर जीर्ण भएका छन् । प्राविधिक समस्याले गर्दा बेलाबेलामा उत्पादनमा अवरोध भइरहन्छ । अब नयाँ प्रविधि र नयाँ मेसिनहरू खरिद गरी ल्याएर जडान नगरेसम्म हेटौंडा सिमेन्ट उद्योगले निकै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ,’पाण्डेले भन्नुभयो।

Back to top button