ओलीको राजनीतिक प्रतिवेदनः वर्तमान गठबन्धनले स्थापित संस्थामाथि निरन्तर प्रहार गर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धनले राज्यका सबै अंगलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहेको बताउनुभएको छ ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले वर्तमान गठबन्धनले स्थापित संस्थाहरूमाथिको प्रहारलाई निरन्तर जारी राखेको बताउनुभयो।

सो प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र बैंकजस्ता स्वायतः संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अंगलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ।’

राजनीतिमा देखा परेका विकृतिविरुद्ध एमाले खरोरूपमा उत्रिने प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा स्वस्थ्य लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली र जनताप्रति उत्तरदायी शासन व्यवस्थाको पक्षमा एमाले रहेको भनिएको छ।

‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तासुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ ।’ प्रतिवेदनमा भनिएको छ,‘ निर्वाचनका बेला जनताले घोषणापत्र र प्रतिबद्धताका आधारमा पार्टीहरु चयन गर्न पाइरहेका छैनन्। सत्ता पक्षले गठबन्धन गरेर विपक्षीमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ।’

यस्तै, प्रतिवेदनमा यो गठबन्धनले राष्ट्रिय महत्वका विषयमा नीतिगत विषयमा सहमति खोज्न नचाहेको उल्लेख छ।

Back to top button