मेयर साम्पाङलाई वाईसीएलको चेतावनी

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ)लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाईसीएल)ले चेतावनी दिएको छ।

मेयर सम्पाङ र वडाध्यक्षबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर अइन्द्रविक्रम बेघाले साम्पाङलाई समस्या समाधान गर्न सुझाव दिँदै विज्ञप्ति प्रकाशित गर्नुभएको थियो।

उपमेयर बेघाले सुझावसहितको विज्ञप्ति प्रकाशित गरेपछि मेयर सम्पाङले मान्छे मारेर आउने मुलेहरूले मलाई विधि र प्रक्रिया सिकाउने भन्दै खिसी गर्नुभएको थियो।

त्यसपश्चात वाईसीएलले मेयर साम्पाङलाई अमर्यादित र असभ्य शब्द प्रयोग गरेर नबोल्न चेतावनी दिएको हो। वाईसीएल धरानका अध्यक्ष दीपक तामाङले आज प्रेस विज्ञप्ति जारी गरी जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त गणतन्त्र माथि स्थानीय सरकार प्रमुख भएर जथाभाबी बोलेर सहिदको अपमान र धरान लज्जित भएको बताउनुभएको छ ।

उहाँले मेयर साम्पाङको गैर जिम्मेवारीपनका कारण धारानमा सभ्य भाषा बोल्न आग्रह गर्नुभयो। उहाँले आफ्नो बोलीचाली सच्याएर सभ्य भाषा नबोले उहाँविरुद्ध कडा आन्दोलन गर्ने तामाङले चेतावनी दिनुभयो।

यस्तै, पछिल्लो समय मेयर सम्पाङ सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरी स्टाट्स लेख्ने र अपशब्द प्रयोग गरी लाइभ बस्ने र वडाध्यक्षहरूलाई गुइठे भनेर विवादित बन्नुभएको छ ।

मेयर र वडाध्यक्षको विवादका कारण धरानको कार्यपालिका बैठकसमेत बस्न सकेको छैन। मेयर सम्पाङको समूह र वडाध्यक्षको समूह एकअर्कामा आक्रमण र आरोप प्रत्यारोपमा उत्रिएपछि धरानमा सुरक्षा खतरा बढेको छ।

Back to top button