धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद

विराटनगर । धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट बिहान प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ सय किलोग्राम गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी मुलघाटको टोलीले धरानतर्फ लैजाँदै गरिएको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको गाँजा बरामद गरेको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५:३० बजेतिर बरामद भएको हो । शंकास्पद हिसाबले आइरहेको मिनी ट्रकलाई रोकेर प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ मिनी ट्रकमाथि चढेर चेकजाँच गर्दैगर्दा चालकले गाडी भगाउन खोजेपछि उहाँ लडेर घाइते हुनुभएको छ ।

घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उहाँको देब्रे खुट्टामा चोट लागेको छ । मिनी ट्रकमा लोड गरिएको गाँजा मुलघाटकै सिरसिरे भन्ने ठाउँमा छाडेर चालक फरार बनेको र खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिनुभयो । गाँजासहित ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button