नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छः उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले सरकारमा रहेको जिम्मेवार व्यक्तिहरूले नेपाली नागरिकलाई भुटानी नागरिक र त्यसपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकोले यस घटनाको छानबिन निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

उहाँले यसले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै यो घटना अमेरिकाको पनि चिन्ता र सरोकारको विषय बनेको बताउनुभयो । त्यसका कारण पनि उहाँले घटनाको छानबिन निष्पक्ष र पूर्वाग्रहरहित हुनुपर्ने बताउनुभयो ।

यस्तै उहाँले कोशी प्रदेशको नामकरणको विरोध गर्दै जारी आन्दोलनलाई वार्ताका माध्यमबाट जायज आवाजको न्यायोचित सवाललाई राज्यले संवोधन गर्नुपर्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा उहाँले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजनलगायतका अति आवश्यक कानुनहरु छिटो जारी गर्नुपर्ने बताउनुभयो ।

यी कानुन अभावमा प्रदेश सरकार पनि प्रभावित भएको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारलाई प्रशासन चाहिन्छ, प्रहरी चाहिन्छ । केबल एउटा गाडीमा झण्डा हल्लाएरमात्र सरकार हुँदैन ।’

Back to top button