प्रधानमन्त्री प्रचण्ड र लामिछानेबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा खुट्टा नकमाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधामन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा लिङ्देनले नक्‍कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गहनरुपमा अघि बढाउन आग्रह गर्नुभएको थियो । भ्रष्टाचारीको कुनै जात,धर्म,लिंग र पार्टी नहुने भन्दै भ्रष्टाचारका पुराना फाइल खोल्‍नुपर्ने माग गर्नुभएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई,बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसक्नुभएको छ । पक्राउ पुर्जी जारी भएका एमाले सांसद टोपबहादुर रायमाझी भने अझै फरार नै हुनुहुन्छ।

यस्तै, पूर्वगृहमन्त्री बादलको सुरक्षा सल्लाहकार राईका छोरा निरज राई पनि फरार हुनुहुन्छ।

Back to top button