प्रधानमन्त्री प्रचण्डलाई राप्रपा अध्यक्ष लिङदे्नको आग्रहः दवावमा नपरि छानबिन होस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेताहरुसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यस प्रकरणमा सत्यतथ्य छानीबन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यो प्रकरण अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेकाले ब्याक नहुने स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष लिङ्देनले छानबिनको क्रममा कुनै दबाबमा नपर्न सरकारलाई आग्रह गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परिसक्नुभएको छ । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार हुनुहुन्छ ।

हाइ–प्रोफाइल व्यक्तिहरु पनि मुछिएकाले प्रधानमन्त्रीलाई आफूहरुले कुनै दबाब नपरी छानबिन अघि बढाउन माग गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

सरकारले गरेको राम्रो काममा आफूहरुको साथ रहने भन्दै उहाँले कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभयो । । अध्यक्ष लिङ्देनले ठूल्ठूला भ्रष्टाचार काण्डका सबै फाइलहरु पनि खोल्नुपर्ने बताउनुभयो ।

२०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण बताउनुपर्नेमा जोड दिनुभयो ।

Back to top button