दोषी ठहरिए देउवा, ओली, प्रचण्डलाई पनि कारबाही हुनुपर्छ : गोविन्द केसी

काठमाडौं । भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् नागरिक आन्दोलन सुरु भएको छ । काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलन सुरु गरेका हुन् ।

प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्इ छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताउनुभयो । उहाँले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

केसीले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले ठूला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुनुपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ ।

शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ । निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ । प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो? तर सबै पार्टी भ्रष्ट नै छन् ।’

केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट आभानो नरहेको स्पष्ट पार्नुभयो ।

Back to top button