टीआरसी विधेयक अघिसार्न संसदीय उपसमिति गठन गर्ने ३ दलको निर्णय

काठमाडौं । प्रमुख राजनीतिक दलहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउन सहमत भएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने ३ ठूला दल नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेपाली कांग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलबाट टीआरसी विधेयकलाई अघि बढाउन संसदीय उपसमिति गठन गर्ने सहमति भएको हो ।

यस्तै, बैठकमा संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्ने सहमति जुटेको छ । यसअघि पनि परिषद्मा बहुमतले निर्णय गर्ने भन्ने व्यवस्था भएपनि दलहरूबीच यो विषयमा मतभेद थियो ।

जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

सो बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने,संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का,माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे,नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,नेकपा एमालेका नेता सुवास नेम्वाङको सहभाता थियो ।

Back to top button