सेयर बजारमा आज १६ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ‌ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक १६ दशमलव ९६ अंकले घटेर १८२१ दशमलव ६४ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ३ दशमलव ५२ अंकले घटेर ३४९ दशमलव ५८ विन्दुमा पुगेको छ। आज २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ६३ हजार ८५६ रुपैयाँमा खरिदबिक्री भयो।

दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर वित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज १६९ कम्पनीको मूल्य घट्दा ४० को मात्रै बढ्यो।

कारोबार रकमका आधारमा यसदिन सिटीजन इन्भेस्टमेन्ट ट्रस्ट शीर्षस्थानमा रह‍यो। सो कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१ रुपैयाँको सेयर कारोबार भयो।

यस्तै, हिमालयन डिस्टीलरीको ४ करोड ५९ लाख र एनआईसी एसिया बैंक ४ करोड ५७ लाख बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटा समूहकोमध्ये १२ को मूल्य घट्यो भने एउटाको मात्रै मूल्य बढ्यो।

इन्भेस्टमेन्ट उपसूहको सूचक १ दशमलव १३ प्रतिशतले बढ्यो।

Back to top button