राप्रपाले काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेष्ठ ४ गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ।

आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगाएत सबै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दवाव दिने उद्देश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिनुभएको हो ।

शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले राप्रपा सशक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राख्नुभयो।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्रै पार्टी राप्रपा भएको उहाँले बताउनुभयो। उहाँले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।

यस्तै, अध्यक्ष लिङ्देनले भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो।

Back to top button