टोपबहादुरलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदै छ।

पक्राउ पुर्जी जारी भएपछि फरार हुनुभएका टोपबहादुर रायमाझी हिजो साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ पर्नुभएकोले आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उहाँ पक्राउ पुर्जी जारी भएको ११औं दिनमा प्रहरीको नियन्त्रणमा पर्नुभएको हो । रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ।

जिल्ला अदालत काठमाडौंले रायमाझी पक्राउ गर्न गत वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो। सो दिन अर्घाखाँचीमा रहनुभएका उहाँ पक्राउ पुर्जी जारी भएपछि त्यहीबाट फरार हुनुभएको थियो।

प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरेको थियो। यही प्रकरणमा अनुसन्धानका लागि सन्दीप पनि पक्राउ पर्नुभएको हो । यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा उहाँ अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हीरक महोत्सवमा विशेष अतिथिका रूपमा सहभागी भइरहनुभएको थियो।

उहाँ त्यसै रात ९ बजे भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा हुनुहुन्थ्यो। तर, अन्तिम समयमा आएर उहाँले टिकट रद्द गरी त्यतैबाट फरार भएको प्रहरी अधिकारी बताउँनुभयो ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर आफैं उपस्थित हुने भन्दै पक्राउ नगर्न अनुरोध गर्नुभएको थियो। तर, उहाँ प्रहरी सम्पर्कमा आएर अनुसन्धानमा नसघाएको भन्दै एमालेले उहाँलाई निलम्बनसमेत गरेको थियो।

Back to top button