बाराको एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जना जलेर घाइते

सिमरा । बाराको आदर्शकोतवाल गाउँपालिका–१ चुयटाहास्थित एक घरमा गएराति आगलागी हुँदा एकै परिवारका ४ जना जलेर घाइते भएका छन्। घाइते हुनेमा बुवाआमा र २ छोरा रहेको प्रहरीले जनाएको छ ।

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उहाँकी श्रीमती ३० वर्षीया चेतरीदेवी, ४ वर्षीय छोरा छोटु र ३ वर्षीय छोरा सन्दीप जलेर घाइते हुनुभएको हो । उहाँहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको छ। सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उहाँहरूलाई अस्पताल लगेका थिए।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट ४ लाख १० हजार बराबरको क्षति भएको छ।

Back to top button