सुनछहरी झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

रोल्पा । रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत हुनुहुन्छ ।

‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बस्नुभएको रहेछ, सोही क्रममा मृत्यु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भन्नुभयो ।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतिलाई मृत अवस्थामा देखेपछि श्रीमान उमेशले प्रहरीलाई खबर गर्नुभएको थियो। घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Back to top button