सबै क्षेत्रमा आमुल सुधार चाहिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम नगरे आम नागरिको अवस्थामा परिवर्तन नहुने बताउनुभएको छ ।

आज पार्टी निकट निजामती कर्मचारी संगठनको कार्यक्रममा उहाँले अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै आमुल सुधार आवश्यक पर्ने बताउनुभयो ।

‘हरेक क्षेत्रमा रेडिकल रिफर्म भन्न मन पराउछु म, आमुल सुधार, सामान्य सुधार होइन’ उहाँले भन्नुभयो,‘संरचनात्मक रुपान्तरणको आवश्यकता देखिएको छ’ उहाँले भन्नुभयो ।

राजनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएपनि त्यसै अनुसार नागरिकको आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

‘यसले जनतामा निराशा पैदा भएको साँचो हो । हामीले व्यवस्था बदले पनि अवस्था बदल्न केन्द्रित हुन सकेनौं । यसका लागि सबै क्षेत्रमा फड्को मार्ने किसिमले काम नगरी आम नागरिकको अवस्थामा परिवर्तन हुने देखिएको छैन’ उहाँले भन्नुभयो ।

यस वर्षको बजेटबाट प्रभावकारी हुन नसकेका कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउने पनि प्रचण्डले बताउनुभयो । आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढ्ने भन्दै उहाँले आउँदो शरद ऋतुमा पर्यटन क्षेत्र कोरोना महामारी अगाडिको अवस्थामा फर्किने दाबी पनि गर्नुभयो ।

नेपालको बैंकिङ क्षेत्रले ठूलो मात्रामा पुँजी परिचालन गरेपनि त्यस अनुसार रोजगारी र प्रतिफल भने दिन नसकेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । बैंकिङ क्षेत्र सीमित समुदायले मात्र उपयोग गरिरहेको उहाँको भनाइ छ ।

Back to top button