विनाशकारी समुन्द्री आँधी ‘मोका’ पूर्वी नेपालमा थोरै प्रभाव

काठमाडौं । विनाशकारी समुन्द्री आँधी ‘मोका’ को न्यून असर पूर्वी नेपालमा पनि देखिएको छ। आइतबार साँझ काठमाडौं लगायत अन्य ठाउँमा वर्षा भएपछि धेरैले चक्रवातको असर ठाने, तर मौसमविद्हरूले उक्त वर्षा पश्चिमी तथा स्थानीय वायुको प्रभावले भएको जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मोका आँधीका कारण नेपालको पूर्वी भेगमा थोरै मात्रामा बादल बनेको छ। जसलाई मोका आँधीको प्रभाव मानिएको छ। आइतबार अपरान्ह्रपछि मोका आँधीको ल्यान्डफल (जमिनमा पुगेको समय) सुरु भएको थियो।

बंगालको खाडीमा बनेको चक्रवात उत्तरपूर्वतिर सरेकाले नेपालमा धेरै असर नगरेको लामिछानेले बताउनुभयो। तर, उक्त आँधी कलकत्तातिर आएको भए नेपाललाई धेरै असर गर्न सक्ने थियो। बंगलादेश र म्यान्मारमा अत्यधिक विनासकारी असर गर्दै भुटान, लाओस र तिब्बतसम्म असर देखियो ।

लामिछाने भन्नुभयो,‘तर जमिनमा पुग्ने बितिकै आँधीको असर कमजोर हुँदै जान्छ। हाल आँधीको असर कमजोर भइसकेको छ।’ उहाँका अनुसार आँधीको ल्यान्डफल जमिनमा हुँदा चाहिने ऊर्जा पाउँदैन। तर समुन्द्रमा पुग्दा भने ऊर्जावान हुन्छ। त्यो विनाशकारी बन्छ।

‘आँधीको बीचमा (आई) आँखा जस्तो। त्यो आँधीको केन्द्र हो। त्यो जमिनतिर सरेपछि एकदमै खराब अवस्था आउँछ,’ लामिछाने भन्नुभयो,‘चट्याङ, हावाहुरी, अत्यधिक वर्षा, बाढीपहिरो लगायत समस्या निम्त्याउँछ।’

चक्रवात खासमा सिजन अनुसार आउँछ। तापक्रमको अथवा कुनै पनि अवस्थामा दबाब भएमा माथिल्लो वायुमण्डलमा उसलाई सुहाउँदो वातावरण बन्ने बितिकै चक्रवात बन्छ। जुनसुकै महासागरतिर यो बनिरहेको हुन्छ ।

तर, यसलाई पूर्वानुमान गर्न सकिन्छ। हुनसक्ने विपद र जनधनको क्षति कम गर्न सकिन्छ। नेपालले पनि आँधीको असर कुनै पनि समय भोग्नुपर्ने सम्भावना रहेको लामिछानेले बताउनुभयो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आइतबार विज्ञप्ति जारी गर्दै हिन्दुकुश हिमालय क्षेत्रमा रहेको बंगलादेश, म्यान्मारमा नराम्रो असर भोगेको उल्लेख गरेको छ। यसले बंगलादेशको कक्स बजारमा रहेको संसारकै ठूलो शरणार्थी शिविरका रोहिग्यांहरू मारमा परेका छन्।

यस्तै, म्यान्मारको रखाइन प्रान्तको अर्को विस्थापित शिविरमा लाखौं मानिस प्रभावित बनेका संयुक्त राष्ट्र संघले जनाएको छ।

यस आँधीलाई म्यानमारमा सन् २००८ मा आएको विनासकारी नार्गिस चक्रवातपछिको अर्को विनासकारी मानिएको छ। उक्त आँधीले १ लाख भन्दा धेरै मानिसको ज्यान गएको थियो।

यस्तै, इसिमोडकी सिनियर वाटर रिसोर्स स्पेसलिष्ट डा. मन्दिरा सिंह श्रेष्ठले भन्नुभयो,‘हिन्दुकुश हिमालय क्षेत्रका सबैभन्दा कमजोर समुदायले मोका आँधीको असर सहनुपर्ने सम्भावना छ।’

Back to top button