नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाश शरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको स्पष्ट पार्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पहिलो पटक पत्रकार सम्‍मेलन गर्दै प्रवक्ता महतले सभापति देउवा यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताउनुभयो।

यो विषयमा पार्टी सभापति देउवा किन चुप हुनुहुन्छ? भन्ने प्रश्नको जवाफमा महतले भने,‘सभापतिको धेरै बोल्ने बानी पहिले देखि छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्‍नु भएको छ। दोषी निर्दोष र निर्दोष दोषी हुनुपर्छ भनेर हामीले भनेका छैनौं।’

यस्तै, प्रवक्ता महतले सांसद आरजु राणा देउवा र मञ्जु खाँणबारे अहिले मिडिया ट्रायल भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो,‘आरजुले त्यो अडियो फेक हो भनेर साइबर ब्युरोमा उजुरी पनि दिनु भएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ। अहिले उहाँहरूविरुद्ध मिडिया ट्रायल भइरहेको छ।’

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य खाँणले आफू निर्दोष रहेको बताएकाले उहाँलाई पार्टीबाट निलम्बन नगरिएको बताउनुभयो।

प्रवक्ता महतले खाँणमाथि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गर्नुभयो। यस्तै उहाँले पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै केहिदिनपछि बैठक बसेर भातृसंगठनदेखि विभाग लगायतका विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो।

Back to top button