अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स काठमाडौंमा

काठमाडौं । अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स नेपालको २ दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएको छ ।

सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको रत्नेश्वर मन्दिरको टुँडाल आर्ट ग्यालरी न्यू साउथ वेल्सले नेपाललाई फिर्ता गर्ने भएको छ । संग्रहालयका निर्देशक डा. माइकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रममा वाट्स सहभागी हुनुहुने छ ।

साथै, उहाँले काठमाडौं विश्वविद्यालय भ्रमण गर्ने र सोही क्रममा अस्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

यस्तै, सहायकमन्त्री वाट्सले पशुपतिनाथ मन्दिर परिसर र बौद्धनाथ परिसरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Back to top button