प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका वाट्सले आज बिहान बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो।

प्रचण्डले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गर्नुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उहाँहरुबीचको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो।

मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो।

Back to top button