खाँणलाई निलम्बन नगरिए कांगेसको अवस्था नाजुक हुन्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको छानबिन कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यो प्रकरण अन्तर्राष्ट्रिय भएकाले ढाकछोप गरिए मुलुकलाई घात हुने बताउनुभयो।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिसकेकाले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने बताउनुभयो। खाँण हाल प्रहरी हिरासतमा हुनुहुन्छ।

नेता कोइरालाले भन्नुभयो,‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भन्ने म भन्न सक्दिन। कांग्रेसकै मात्रै नभएर देशको अवस्था नाजुक भएर जान्छ। यो मुद्दा नेपालभित्र मात्रै सीमित छैन। यो अन्तराष्ट्रियकरण भइसकेको छ। नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आएको होइन भन्ने पनि बुझौं।’

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणले देशकै शीर निहुरिएको र राष्ट्रघाती काम भएको भन्दै घटनाका दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताउनुभयो।

Back to top button