नक्कली शरणार्थी प्रकरणमा सम्लग्नलाई ४ वटा कसुरमा मुद्दा चलाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ ।

जेठ १, २ र ३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग गर्नु अंकको भ्रष्टाचार मात्र नभएको निष्कर्ष निकालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्तेलगायतका कसुरमा कारवाही गर्न राप्रपाले माग गरेको राप्रपा प्रवक्ता सगुन लावतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले माओवादी लडाकु शिविरको घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि माग गरेको छ ।

राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको छ । यस्तै किसानलाई मल, बीऊ सर्वसुलभ रुपमा उपलब्ध गराउन पनि राप्रपाले माग गरेको छ ।

Back to top button