मासुपसलको अनुगमनमा विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो ।

महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजना अनुसार दैनिक अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । यसरी अनुगमन गर्दा मासु पसलमा सुधार देखिएको उहाँको भनाइ थियो ।

अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन हुने उहाँको भनाइ छ । महानगरको टोलीले विराटनगर वडा नम्बर २ को तीनपैनी, बरगाछीलगायतका स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको छ ।

टोलीमा पशुपंक्षी शाखाका प्रमुख यादवसहित महानगर प्रहरीका प्रमुख राजन पौडेल, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेललगायतको सहभागिता थियो । अनुगमनका क्रममा पसलको दर्ता, नविकरण, फोहोरको व्यवस्थापनलगायतका विषयमा पनि टोलीले अनुगमन गर्ने गरेको छ ।

Back to top button