विराटनगर महानगरका वडा तहका सबै सिफारिस अनलाइनबाट हुने

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।

महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो ।

त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताउनुभयो ।

उहाँले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले चाँडै सबै वडामा यो सुविधा सुचारु गरिने बताउनुभयो ।

उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताउनुभयो ।

महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिनुभयो ।

वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताउनुभयो ।

अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने बताउनुभयो ।

पहिलो चरणमा वडासचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरुलाई पनि तालिम दिने तयारी गरेको छ ।

Back to top button