कानुन समितिको कार्यविधि सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको छ ।

समितिका सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको हो ।

कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधि अनुसार विनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था छ ।

यस्तै, ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा रहेको समिति सचिव अधिराज राईले समितिमा जानकारी गराउनुभएको थियो ।

विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्कासन गर्न सक्ने प्रस्तावसहितको कार्यविधि राईले समितिमा प्रस्तुत गर्नुभएको थियो । त्यो प्रस्तावलाई स्वीकार गर्दै समितिले सर्वसम्मत रुपमा पारित गरेको हो ।

Back to top button