हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ पर्नुभएको छ । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ पर्नुभएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उहाँको खोजी सुरु गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा हुनुहुन्थ्यो।
प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बस्नुभएका उहाँ आज बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ पर्नुभएको हो । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उहाँलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।
हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गर्नुभएको थिएन् ।

Back to top button