सरकार परिर्वतनका लागी कोशी प्रदेशमा दवाव बढाउँदै कांग्रेस

विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको कसरत गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेशमा सरकार गठन हुनुपर्ने बताएको छ ।

कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकारमा सहभागी रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।

आज संसदीय दलको कार्यालय विराटनगरमा बसेको बैठकले माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न आग्रह गरेको कांग्रेसका प्रदेश सांसद भीम पराजुलीले जानकारी दिनुभयो ।

कोशी सरकारमा माओवादीका तर्फबाट २ र जसपाका तर्फबाट १ जना मन्त्री छन् । केन्द्रमा समिकरण फरक भएका कारण प्रदेशमा पनि सोही अनुसारको सरकार हुनुपर्ने पराजुलीले बताउनुभयो । माओवादी केन्द्र र जसपा सरकारबाट नबाहिरिदाँ गठबन्धन सरकार बनाउने प्रयास रोकिएको उहाँको भनाइ छ ।

यस्तै, कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।

केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखि नै गठबन्धन छ ।

प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन ।

Back to top button