परराष्ट्र नीति पञ्चशीलका आधारमा हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा हुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने बताउनुभयो ।

बैठकमा सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भन्दै गरेको प्रश्न गर्नुभएको थियो । सांसद रघुजी पन्तले नेपाल–भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायतका विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भन्दै प्रश्न गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इन्च पनि जमिन छोड्दैनौं, छिमेकीको पनि एक इन्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गर्छौं, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।’

आफ्नो भारत भ्रमणमा राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने प्रधानमन्त्रीले बताउनुभयो ।

Back to top button