ब्राउनसुगर सहित झापामा तीनजना पक्राउ

बिर्तामोड । झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ का २८ वर्षीया दाम भन्ने सुसन धिमाल, दमक–९ का २७ वर्षीय अभिषेक विश्वकर्मा र २० वर्षीय तिन्तुस मुन्ना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

दमक–४ स्थित अडिया महलमा ब्राउन सुगरको बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले शरीर चेकजाँचका क्रममा मुन्नाको साथबाट १० ग्राम ब्राउन सुगर फेला पारेको हो। उनले मलद्वारमा ब्राउन सुगर लुकाएर राखेका थिए।

प्रहरीले घटनास्थलबाट को ३९ प ६८७५ नम्बरको र को १४ प २२९० नम्बरको मोटरसाइकलसहित दुई थान मोबाइल समेत बरामद गरेको छ। सो घटनामा संलग्न दमक–९ का २५ वर्षीय रोशन विश्वकर्मा फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

Back to top button