सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। आज अपरान्ह ४ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ । सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उहाँको यो पहिलो सम्बोधन हो । सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ।

बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनुहुनेछ । उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्।

Back to top button