कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव वाग्लेलाई नहटाउन उच्चअदालतको अल्पकालीन अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट नहटाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सदस्य सचिव वाग्लेलाई कोशी प्रदेश सरकारले पदबाट हटाइएको पत्र कार्यान्वयन नगराउन उच्च अदालत विराटनगरले आज अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

बुधवार मन्त्रीपरिषद्को बैठकबाट वाग्लेलाई पदबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्याण विरुद्ध वाग्लेले उच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर रिट निवेदन हिजो दर्ता गराउनुभएको थियो ।

उच्चले रिटमा माग भएको आदेश किन दिनु नपर्ने हो भन्ने सम्बन्धमा विपक्षीसँग १५ दिनको समय राखेर मुख्य न्याधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ मागेको छ । अदालतले जेठ ११ गते १० बजे पेसी तोकेको छ ।

‘विपक्षी कोशी प्रदेश सरकार मन्त्रिपरिषद्बाट मिति २०८०/०२/०३ मा भएको निर्णय र सो निर्णयअनुसार च.नं. १५९१ मिति २०६०/०२/०४ मा निवेदकलाई प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदबाट हटाइएको विषयमा जानकारी गराइएको पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको ब्यहोरा जानकारी गराइन्छ,’ आदेशमा उल्लेख छ ।

सदस्य सचिव वाग्लेलाई प्रदेश सरकारले बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको ब्यानरमा ‘कोशी प्रदेश किन नलेखेको’ लाई देखाएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।

वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो । दुई पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले हटाएको यो । नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए ।

Back to top button