कर्मचारीकै सम्लग्नतामा वचतकर्ताको रकम चोरी, एभरेष्ट बैंकका ७ कर्मचारीसहित ९ जना पक्राउ

विराटनगर । वचतकर्ताले बैंकमा जम्मा गरेको रकम चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वचतकर्ताले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको पाइएको छ । ३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएको छ । पक्राउ पर्नेहरुमा ७ जना एभरेष्ट बैंककै कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) राजकुमार राईका अनुसार उक्त रकम पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट चोरी भएको हो । यस अवधिमा ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेक प्रयोग गरेर निकालेको पाइएको छ ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर रकम निकाल्ने गरेको पाइएको हो । रकम अन्य बैंकको विभिन्न खातामा पनि पठाउने गरेको देखिएको डीएसपी राईले बताउनुभएको छ ।

पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे–८ का ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षीय रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई रहेका छन् ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजू पनि पक्राउ परेका छन् । प्र

हरी नायव उपरीक्षक राईका अनुसार यस घटनाका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान रहेको पाइएको छ । प्रधान इटहरी शाखाबाट गत मार्च १२ तारिकमा मात्र गाइघाट सरुवा भएको र प्रधानकै योजनामा चोरी भएको पाइएको हो ।

प्रहरीका अनुसार गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटकमा कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । यसैगरि नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले जानकारी दिएको छ ।

कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । ग्राहकले आफ्नो खाताबाट रकम हराएको बैंकमा जानकारी गराएका थिए । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको र इटहरी शाखाका ६ जनालाई हिजो पक्राउ गरिएको डीएसपी राईले बताउनुभयो ।

धनुषाका भुजेललाई वैशाख १० गते र भक्तपुरका खिउजुलाई वैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको छ । पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताउनुभयो ।

Back to top button