विराट–बर्जु हाफ म्याराथनमा सेनाका रावल र नेपाल प्रहरीकी बिष्ट प्रथम

विराटनगर । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम हुनुभएको छ ।

म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम हुनुभएको हो । नेपाली सेनाकै सुशीलकुमार शाही द्धितिय हुनुभयो ।

उहाँले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गर्नुभयो भने वैतडीका म्याराथन धावक मोहनदेव जोशी तृतिय बन्नुभयो । उहाँले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गर्नुभयो ।

यसैगरि १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नेपाली सेनाका होमलाल श्रेष्ठ चौथो हुनुभयो । पाँचौं बन्दै नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गर्दा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा दुरी पुरा गर्दै छैटौं बन्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गर्नुभएको छ । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम

महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम हुनुभएको छ । उहाँले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको हो । सशस्त्र प्रहरीकी सिमा थारु चौधरी १९ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै दोस्रो बन्नुभयो ।

यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो बन्दा २० मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो बन्नुभयो ।

प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा २९ जना महिलाको सहभागीता थियो ।

खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवर्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।

ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले बिहान विराट राजाको दरबार क्षेत्रबाट उद्घाटन गर्नुभएको म्याराथन सुनसरीको बर्जुमा पुगेर समापन भएको हो ।

Back to top button