निःशुल्क उपचारका लागि जिपि फाउन्डेसन र पारस अस्पतलबीच सम्झौता

विराटनगर । विपन्न तथा गरिवलाई निःशुल्क उपचार गर्न गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशी प्रदेश र पारस अस्पतालबीच सम्झौता भएको छ।

विराटनगर महेन्द्रचौक स्थित सञ्चालनमा रहेको पारस अस्पताल र गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशीबीच प्रदेशको विभिन्न जिल्लाका विपन्न तथा गरिवको निःशुल्क उपचार गर्ने सम्झौता भएको हो ।

कोशी प्रदेशको विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न र गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निःशुल्क उपचारदेखि विशेष छुट गर्ने सम्झौता भएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताले बताउनुभयो।

सम्झौतामा पारस हस्पिटलका तर्फबाट सञ्चालक डा. सफिउर रहमना र फाउन्डेसनको तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा हस्ताक्षर गरेकै दिन गिरिजाप्रसाद कोइराला फाउन्डेसनको पहलमा अस्पतालले सुनवर्षी नगरपालिका वडा–२ का ४२ वर्षीय शम्भु ऋषिदेवको उपचार सुरु गरेको जनाएको छ। ऋषिदेवलाई सुनवर्षीबाट नै अस्पतालले एम्बुलेन्समा ल्याएर निःशुल्क उपचार सुरु गरेको हो।

यस्तै, फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अस्पतालसँग भएको सम्झौताले विपन्न तथा गरिब जनता उपचारबाट वञ्चित नहुने बताउनुभयो। पारस हस्पिटलका सञ्चालक डा. सफिउर रहमानले फाउन्डेसनसँग मिलेर नागरिकको सेवामा समर्पित हुने बताउनुभयो।

उहाँले फाउन्डेसनले पहिचान गरेको आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेदेखि बिरामिको अवस्था हेरेर केही प्रतिशत छुट गर्ने बताउनुभयो।

Back to top button