विराटनगरबाट २२ किलो गाँजा बरामद, तस्करलाई पक्राउ गर्न खोज्दा एक प्रहरी घाइते

विराटनगर । नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको लागूऔषध गाँजा विराटनगरबाट प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट राति ११ः१५ बजेतिर अन्दाजी २२ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बोरामा प्याक गरी २ जना व्यक्तिले टाउकोमा बोकेर गाँजा भारत कटाउने तयारी गर्दै थिए ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीलाई देख्नसाथ गाँजा तस्करीमा संलग्न फरार बनेको उहाँले बताउनुभयो । गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा प्रहरीका १ जना सहायक हवल्दार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते हुनुभएको हो । गाँजा तस्करलाई पक्राउ गर्न खोज्दा लडेर घाइते हुनुभएका उहाँको खुट्टामा चोट लागेको छ । उहाँलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको डीएसपी दाहालले जानकारी दिनुभयो ।

यस्तै, उहाँका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर राखिएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पार्दै घाटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताउनुभयो ।

Back to top button