स्मृती बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर । बुढीगंगा गाउँपालिका ३ नेमुवा मोरङमा रहेको स्मृती इङ्गिलस बोर्डिङ स्कूलले विविध कार्यक्रम गरेर १९ औं वार्षिक उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम समेत गरेको छ ।

स्कूलकी प्रिन्सिपल रिता न्यौपानेको अध्यक्षता तथा ब्लुमिङ किन्डरगार्डन मन्टेश्वरी स्कूल इटहरीकी प्रिन्सिपल स्मृति सापकोटा भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नर्सरी बाहेकका ११५ जना नयाँ विद्यार्थीलाई विद्यालयमा स्वागत गरिएको हो ।

कार्यक्रममा कक्षाका प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थी, अनुशासित विद्यार्थी, सरसफाईमा विशेष ध्यान दिने विद्यार्थी, नियमित विद्यालयमा उपस्थित हुने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

यस्तै विद्यालयमा निरन्तर ५ बर्ष भन्दा बढी समय रहेर अध्यापन गराउने शिक्षक, नियमित विद्यालयमा उपस्थित हुने शिक्षक र वर्षको उत्कृष्ट शिक्षकलाई नगद ५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विद्यार्थीसँगै शिक्षकहरुलाई पनि आफ्नो कामको मूल्यांकनको अनुभूति दिलाउनको हरेक वर्ष पुरस्कार वितरण गर्ने गरेको प्रिन्सिपल न्यौपानेले बताउनुभयो । विद्यालयले हरेक हप्ता विविध कार्यक्रम गर्दै आएको छ ।

पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले हरेक हप्ता खेलकुद, हाजिरीजवाफ, बादविवाद, बक्तृत्वकलालगायतका प्रतियोगिताहरु गर्दै आएको न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, नेपाल डोरीतान संघ झापाकी अध्यक्ष तथा विर्ता लेडी जेसीजकी कानुनी सल्लाहकार युनिता दवाडीलगायतले शुभकामना राख्नुभएको थियो ।

२०६० सालमा ५७ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले ८५० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नर्सरी देखि कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ४० जना शिक्षकहरु रहेको स्कूलले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँकृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विद्यालय प्रथम हुने विद्यार्थी अक्षता न्यौपानेलाई ११ हजार १११ रुपैयाँ नगद प्रदान गर्नुभयो ।

Back to top button