नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न ८ सदस्यीय टोली गठन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोली गठन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि मुद्दा दर्ता गर्न ८ सदस्यी टोली गठन गरिएको हो।

पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले आज प्रहरीले प्रतिवेदन बुझाएपछि मंगलबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने जानकारी दिनुभयो। सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घन्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।

पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो। पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा हुनुहुन्छ।

सोही प्रकरणमा मुछिनुभएका निरज राई र प्रतीक थापा हालसम्म फरार हुनुहुन्छ। उहाँहरूविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को छोरा हो भने निरज पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईको छोरा हो।

राई र थापाबाहेक यस प्रकरणमा जोडिएका अन्य व्यक्तिको प्रहरीले खोजि गरिरहेको छ। पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उहाँहरूमाथि आरोप छ।

Back to top button