महानगर र निजी क्षेत्रको सहकार्यमा विकसित विराटनगर बन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गर्नु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै विकास सम्भव भएको बताउनुभयो ।

महानगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै मेयर कोइरालाले महानगरपालिकाको एक्लो प्रयासले मात्रै विराटनगरको समग्र विकास गर्न असम्भव रहेकाले निजी क्षेत्रको योगदान पनि उसैगरि रहोस भन्नुभयो ।

मेयर कोइरालाले महानगरका तर्फबाट महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, कोषाध्यक्ष सुवास आचार्य, सदस्य राजन श्रेष्ठ, दीपक पाण्डे, रविनकुमार दाहाल, श्रवण अग्रवाल, भविष श्रेष्ठ, सरु केसी, यामबहादुर श्रेष्ठ, मनोजविक्रम शाहलगायतलाई खादा लगाएर सम्मान गर्नु भएको थियो ।

मेयर कोइरालाले महानगर र महासंघबीच आगामी दिनमा थप परिणाममुखी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कर्मचारीको तहबाट सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष राउतले महानगरले पछिल्लो समय महानगरवासीले महसुस गर्ने गरी धेरै काम गरेको बताउनुभयो । उहाँले महानगरले गर्ने जनपक्षीय हरेक काममा साथ र सहयोग रहने बताउनुभयो । उहाँले विकासका सन्दर्भमा महानगरले सम्झेको खण्डमा जुनसुकै बेला उपस्थिति हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष राउतले महानगरका आर्थिकलगायतका समितिहरुमा महासंघको प्रतिनिधित्व गराउनसमेत आग्रह गर्नुभयो ।

Back to top button