युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको राष्ट्रपति जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गर्नुभएको छ । उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइरहेको छ ।

वागनर समूहले बाख्मतका सवै सडक र बस्तीहरुमा रुसी झण्डा फहराएको निश्चित भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाकुहरुलाई बधाई दिँदै उत्सवका लागि आह्वान गर्नुभएको हो ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा युक्रेनी सेनाका शव बाहेक अरु कसैको उपस्थिति नरहेको दाबी गरेका छन् । आफ्ना लडाकुहरु घर घरमा पुगेको भन्दै उनले एक जना पनि युक्रेनी सैनिक वा लडाकु त्यहाँ फेला नपारेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आइतबार जापानमा जी सेभेन–सम्मेलनका क्रममा बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गर्नुभएको थियो ।

Back to top button