प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउन आवश्यक : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय उठाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणसन्दर्भमा नेपालको नक्साको विषय उठाउन आवश्यक रहेको बताउनुभयो।

‘हाम्रो देशको जुन लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको नक्साको सन्दर्भमा कुराहरु आएको छ। यो अवस्य पनि यो उल्लेख हुनुपनि पर्दछ।’उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा यसलाई उठाउनुपर्ने पनि आवश्यकता छ।’

अध्यक्ष नेपाललेले छिमेकी देश र सबै अन्य देशहरुसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताउनुभयो। उहाँले नेपालको हीत र सम्मानको कुरा गर्न चाहने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो,‘हाम्रो देशलाई स्वाभिमानी देशको रुपमा परिचित बनाउन चाहन्छौं। त्यसको निम्ति सबैको सहयोग पनि हामी चाहन्छौं।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले अनेकौं सेटिङ र भ्रष्टाचारले विद्यार्थीले नेपालमै डाक्टर पढ्न नपाएर विदेश गइरहेको बताउनुभयो। उहाँले नेपालमै उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो।

Back to top button