ल्यापटप खरिद प्रक्रिया रोक्न एमाले कोशी प्रदेश संसदीय दलको आग्रह (भिडियो सहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेशसभाले सांसदका लागि भन्दै त्याएको ल्यापटप खरिदकार्य स्थगित गर्न अनुरोध गर्ने भएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले संसदीय दलको बैठकले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको बताउनुभयो ।

‘अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको रहेछ । त्यही बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको रहेछ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामीले दलको धारणा सार्वजनिक गर्नुपर्छ भन्ने लाग्यो । अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला अहिले यो चाहिंदैन भन्ने निर्णय गरेका छौं ।’

अहिलेका लागि कम्प्युटरसँग सम्बन्धीत काम गर्न आफूहरुसँग पिए रहेको, संसद सचिवालयले उपलब्ध गराएको दलको कार्यालयमा कम्प्युटर पनि रहेको, कतिपय काम एन्ड्रोइड मोवाइलबाटै पनि हुने भएकोले ल्यापटप नचाहिने भण्डारीले बताउनुभयो । उहाँले ल्यापटप खरिद गर्न लागेको विषयमा वर्तमान सरकारप्रति भइरहेको आलोचना र टिप्पणीप्रति दुःख व्यक्त गर्नुभयो ।

‘यो वर्तमान सरकारले गरेको विषय होइन,’ उहाँले भन्नुभयो, ‘तर, एमाले र वर्तमान सरकारलाई जोडेर गरिएको प्रचारप्रति हामी दुःख व्यक्त गर्दछौं ।’

सांसदहरुलाई बाँड्न भन्दै प्रदेशसभाले १ सयवटा ल्यापटप खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको थियो । प्रदेशसभा सचिवालयले एक हप्ता अगाडि टेण्डर आव्हान गर्दै ल्यापटप खरिद प्रक्रिया सुरु गरेको थियो । ल्यापटप खरिद प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस संसदीय दल र नेकपा (माओवादी केन्द्र)ले सचिवालयले उपलब्ध गराउने ल्यापटप अस्वीकार गर्ने सार्वजनिक गरेको थियो।

यस्तै, यस पटक बजेट पुस्तिकामा ल्यापटप वितरण गर्न बजेट विनियोजन गरिएको थिएन । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास बजेट रकमान्तर गरेर संसद सचिवालयलाई बजेटको व्यवस्था गराउनुभएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री कार्कीकै नेतृत्वमा छ । प्रदेशमा संचालन भइरहेका कतिपय विकासे आयोजनाको बजेट भुक्तानीमा समस्या भइरहेको बेला सरकारले भने सांसद फकाउन ल्यापटप वितरण गर्न लागेको भन्दै यसको तीब्र आलोचना भएको थियो ।

Back to top button