स्वाभिमानी नेपालीको अस्तित्वमा प्रश्न उठ्योः पूर्वराजा ज्ञानेन्द्र शाह

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वाभिमानी नेपालीको अस्तित्व छ या छैन भन्ने कुरामा प्रश्न उठेको बताउनुभएको छ । आज धनगढीमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत भइरहेको छ, त्यसले हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।’ उहाँले अहिले नेपालमा उच्च तहका नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भएको बताउनुभयो ।

‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर‚ परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम‚ सीप सबैथोक खोसिएको त छैन?’ शाहले भन्नुभयो, ‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ।’

यसैबिच धनगढीमा पूर्वराजा शाहलाई अभिनन्दन गरिएको छ। नेपालगञ्जबाट आफैं गाडी चलाएर पूर्वाराजा शाह कैलाली पुग्नुभएको थियो । उहाँसँगै हिमानी शाह पनि कैलाली पुग्नुभएको हो । पूर्वराजा शाहलाई अभिनन्दन गर्न जयन्त चन्दको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो।

Back to top button