कामीरिता शेर्पाद्वारा २८ औं पटक सगरमाथा आरोहण

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ ।

आज बिहान ९ः२३ बजे सगरमाथाको चु–चुरोमा पुगेसँगै उहाँले २८औं पटक सगरमाथाको सफल आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बन्नुभएको हो।

यसअघि जारी सिजनमा यही मे १७ मा उहाँले २७औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमानी कायम गर्नुभएको थियो । हिजो बिहान अर्थात मे २२ मा पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिताको कीर्तिमानीमा बराबरी बनाउनुभएको थियो।

यस्तै, यो वर्षको वसन्त ऋतुमा कामीरिताको यो दोस्रो पटकको आरोहण हो ।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औं पटक सगरमाथाको आरोहण गर्नुभएको थियो। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, केटु आरोहण १ गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चु–चुरोमा पुगेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिनुभएको छ । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका ४ सय ७८ आरोहीले आरोहण अनुमति लिनुभएको हो । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो ।

Back to top button