महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहरमैला हटाएको छ।

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ३ दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो।

‘सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ। आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनी रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो। महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संचना हटाएको छ।

यस्तै, महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उहाँले आगामी शनिबार वृक्षरोपणको कार्यक्रम गर्ने जानकारी दिनुभयो।

Back to top button